सबै राजनीतिक दलहरु एक भएर उद्धार र राहत कार्यमा जुट्ने प्रतिवद्धता

स्वर्णिम खबर
१३ आश्विन २०८१, आईतवार १७:४०

१३ असोज, काठमाडौँ । सरकारले बाढी पहिरोमा परी प्रभावित र घाइते भएकाहरुलाई तत्काल उद्धार गरी उचित व्यवस्थापन गर्नेमा जोड दिने बताएको छ ।
आईतवार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा बसेको सर्वदलीय बैठकले सबै राजनीतिक दलहरु एक भएर उद्धार र राहत कार्यमा जुट्ने प्रतिवद्धता जनाएको हो ।
अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी प्रभावित भएका र घाइते भएकाहरुलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकपछि जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्षाका कारण गएको पहिरो र बाढिले आवागमन अवरुद्ध भई गन्तव्यमा पुग्न नसकी अलपत्र परेका यात्रुहरुलाई सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समिति, जिल्लाको यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पु¥याउने निर्णय गरेको बताउनुभयो ।
राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गको अवरोध हटाई आवागमन सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल गर्ने निर्णय पनि भएको मन्त्री गुरुङले बताउनुभयो ।
यसैगरी मन्त्री गुरुङले सर्वपक्षीय बैठकले मौसममा क्रमिक सुधार आईरहेको भएपनि विनाशकारी बाढीका कारण सिर्जित विषम परिस्थितीमा जनस्वास्थ्यको सवाल अहम हुने भएकोले विपद् पछिको महामारीको संभावनालाई न्युनिरण गर्न स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक निरोधात्मक र उपचारात्मक विधी प्रयोग गरी प्रभावित क्षेत्रमा औषधि उपचार र आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्ने निर्णय भएको बताउनुभयो ।
यसैगरी बैठकले विपद्को चपेटामा परेका सर्वसाधारण र आउँदै गरेको पर्वहरुलाई समेत लक्षित गरी खाद्यान्न, तरकारी, फलफूल, ग्याँस लगायत अत्यावश्यक दैनिक उपभोग्यका सामानहरु सूपथ मूल्यमा सजिलै सँग प्राप्त गर्नसक्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
बाढीका कारण क्षतिग्रस्त पुल, सडक, विद्यालय, स्वास्थ्यचौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायत पूर्वाधार र कृषि तथा पशुपंक्षी क्षेत्रमा भएको क्षतिको विवरण सम्बन्धित मन्त्रालयले संकलन गरि पुनर्निर्माणको लागि आवश्यक प्रकृया अघि बढाउने निर्णय भएको बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*