काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैनः सांसद सापकोटा
२३ असार, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सत्ता समिकरणको सम्बन्धमा नेपाली काँग्रेस र नेकपा(एमाले)ले गरेको सहमती अपारदर्शी भएको बताउनुभएको छ ।
आईतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सापकोटाले नेपाली काँग्रेस र नेकपा(एमाले)का बीचमा भएको सहमती आधिकारिक रुपमा बाहिर नआएको भन्दै अपारदर्शी सम्झौता रहेको जिकिर गर्नुभयो । उहाँले संसदीय अभ्यासमा ठूलो दलले सरकार बनाउने र दोस्रो ठूलो दल प्रतिपक्षमा बस्ने परम्परा रहेपनि सहमतीमा दोस्रो ठूलो दलको नेतृत्वमा सरकार बनाउने सुनिएको भन्दै यसरी स्थिरता दिन नसकिने बताउनुभयो । सांसद् सापकोटाले नेकपा(एमाले)ले नैतिकता नदेखाएको समेत आरोप लगाउनुभयो । उहाँले दुई दलका बिचमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमती हुनुले सरकार स्थिर हुन नसक्ने बताउनु भयो ।
सांसद सापकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको फाइल खोलेर बेचन झा पक्राउ गर्नासाथ सरकार परिवर्तनको खेल शुरु भएको बताउनु भयो । उहाँले नेकपा(एमाले)प्रति लक्षित गर्दै गिरिबन्धु टि स्टेटको कालो धब्बाले छोपिएर आफूहरुलाई नैतिकताको पाठ नसिकाउन चेतावनी दिनुभयो ।
सांसद सापकोटाले प्रधानन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने र विश्वासको मत लिने बताउनुभयो ।













