प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित, बजेट निर्माणमा कमजोरी भएको प्रधानमन्त्रीबाटै स्वीकार
११ असार, काठमाडौँ । प्रतिनिधि सभाबाट आउँदो आर्थिक वर्ष २०८१÷०८२ को बजेट पारित भएको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक २०८१ लाई पारित गरियोस’ भनी राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो । सरकारले गएको जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो ।
यसअघि बजेटको विषयमा सांसद्हरुले उठाएको जिज्ञाशाको जवाफ दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै बजेट निर्माणमा कमजोरी भएको स्वीकार गर्नुभयो । बजेटलाई सन्तुलित बनाउने कोशिश गर्दागर्दै पनि केही तलमाथि भएको भन्दै प्रधानमन्त्री प्रचण्डले अर्थ र भौतिक पूर्वाधार मन्त्रीको ध्यानाकर्षण समेत गराउनुभयो । आफूले आउँदो वर्षको बजेट विगतको भन्दा फरक तरिकाले निर्माण गर्ने कुरा पटक पटक गरेको तर परम्परागत ढङ्गबाट बजेट निर्माण गर्ने पद्धति बदल्ने प्रतिबद्धतामा पूर्णतः सफल हुन नसकेको उहाँको भनाइ छ ।













