वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छः सम्मानित नेता खनाल
३ असार, काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीको आगामी महाधिवेशनमा वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतीमा पार्टीको नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको छ ।
सोमवार अखिल नेपाल महिला संघ (समाजवादी)को वैचारिक मुखपत्र महिला संकल्प–२ को विमोचन समारोहलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले पार्टीको आगामी महाधिवेशनबाट सहमतीमा नेतृत्व चयन गर्नुपर्ने भन्दै निश्चित आधारमा मात्रै सहमतिमा नेतृत्व चयन हुनसक्ने बताउनु भयो । उहाँले नेताहरुको टाउको जोडेर मात्रै सहमति नहुने भन्दै वैचारिक, राजनीतिक कार्यदिशा तथा नीति र सिद्धान्तमा आधारित भएर पार्टीको नेतृत्वका लागि सहमति गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले सहमतिमा नेतृत्व चयन गर्नका लागि सबैले प्रयत्न गर्नुपर्ने बताउनु भयो ।
सम्मानित नेता खनालले हाल पार्टीभित्र ८ प्रतिशत मात्रै महिला सदस्यहरु रहेको भन्दै धेरै भन्दा धेरै महिला तथा श्रमिक महिलाहरुलाई पार्टीमा संगठित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।













