जसपा, नेपाललाई सरकारबाट पनि निकालिने काम भयोः अध्यक्ष नेपाल

१ जेठ, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक समिकरण दिनदिनै परिवर्तन भइरहेको भन्दै सोचेभन्दा अलग ढंगले अगाडी बढिरहेको बताउनुभएको छ ।
उहाँले कतिपय शक्तिहरु षड्यन्त्रपूर्ण ढंगले सबै पार्टीभित्र अन्तरबिरोध पैदा गरेर शक्ति वृद्धि गर्न लागेको बताउनुभयो । मंगलवार पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अन्य पार्टीका कार्यकर्तालाई प्रलोभनमा पारी आफ्नो पक्षमा तान्न विभिन्न शक्तिहरु लागिरहेको भन्दै त्यसप्रति आफूहरु सचेत हुनुपर्ने बताउनुभयो । उहाँले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाललाई फुटाइएको पनि टिप्पणी गर्नुभयो । उहाँले जसपा, नेपाललाई सरकारबाट पनि निकालिएको बताउनुभयो । अध्यक्ष यादवले मन्त्री पदबाट राजीनामा नदिएको भए गलहत्याएर निकालिने स्थिति रहेको उहाँले बताउनु भयो । अध्यक्ष नेपालले वर्तमान सत्ता समिकरणमा बस्ने कि नबस्ने भन्ने निर्णय गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पार्नुभयो ।
अध्यक्ष नेपालले पार्टीभित्र भ्रष्ट प्रवृत्ति देखिएको बताउनुभयो । उहाँले पार्टीभित्र भ्रष्टिकरण र पदलोलुपताको प्रवृत्ति खतरनाक रुपमा देखापरेको भन्दै यस्तो अवस्था रहेमा आफूहरुलाई कसैले विश्वास नगर्ने पनि उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले आफूहरुले राजनीतिको भ्रष्टिकरणका विरुद्धमा स्पष्ट अडान र तदनुरुपको गतिविधिहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । पार्टीभित्रको असन्तुष्टिहरु छलफल गरेर टुंगो लगाउन सकिने अध्यक्ष नेपालको भनाई छ ।
अध्यक्ष नेपालले पार्टीका मन्त्रीहरुप्रति नेता, कार्यकर्ताहरुको धेरै गुनासो आएको भन्दै पार्टी र कार्यकर्ताहरुसँगको सम्बन्धलाई राम्रो बनाउन मन्त्रीहरुलाई निर्देशन पनि दिनुभयो ।