सामाजिक सुरक्षा कार्यक्रमको सफलतामा सरकारले आफ्नो सफलता देखेको छः प्रधानमन्त्री दाहाल
१९ वैशाख, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्य कार्यान्वयन र सफलतामा सरकारले आफ्नो सफलता देखेको बताउनुभएको छ ।
१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री दाहालले सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पु¥याउन नेपाल सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । स्थानीय तहमा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमार्फत सामाजिक सुरक्षाको दायरामा ल्याउन सक्नेगरी कानूनी आधार सरकारले तयार पारेको उल्लेख गर्दै उहाँले सो कार्यक्रमलाई प्रभावकारी बनाउने कार्यमा सशक्त भुमिका निर्वाह गर्न पनि स्थानीय तहलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री दाहालले ‘‘सबैलाई सामाजिक सुरक्षा’’ भन्ने राष्ट्रिय लक्ष्य हासिल गर्न आफ्नै निर्देशन र पहलमा वैदेशिक रोजगारीमा जाने श्रमिकको सामाजिक सुरक्षाको सुरुवात गरिएको भन्दै त्यसको कार्यान्वयनमा देखिएका चुनौतीहरु सामुहिक प्रयासबाट सम्बोधन गर्ने समेत बताउनु भयो ।
प्रधानमन्त्री दाहालले श्रमिकहरुको न्युनतम पारिश्रमिकको वृद्धिका लागि आफूले निरन्तर पहल गरिरहने पनि बताउनु भयो ।













