सभामुख घिमिरेको स्वीकारोक्तिः कानून निर्माणमा संसदको हिउँदे अधिवेशन प्रभावकारी भएन
२ वैशाख, काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलले संसदको हिउँदे अधिवेशनमा कानून निर्माण र जनसरोकारका मुद्दा मुखरित गर्ने कार्य पर्याप्त नभएको बताउनुभएको छ ।
सभामुख घिमिरेले आईतवार प्रतिनिधिसभा बैठकमा हिउँदे अधिवेशनमा (तेस्रो अधिवेशन) कानून निर्माण र जनताको मुद्दालाई सम्बोधन गर्ने विषयमा विगतका दुई वटा अधिवेशनभन्दा तुलनात्मक रुपमा उपलब्धि पूर्ण रहेको आफूले ठाने पनि पर्याप्त नभएको स्वीकार गर्नुभएको हो । उहाँले राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयको आधारमा आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखि हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
संसद जनताको भावनालाई जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले अभिव्यक्ति दिने प्रमुख संस्था भएकाले यहाँ आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोश पनि व्यक्त हुने उल्लेख गर्दै सभामुख घिमिरेले त्यसमा हुने बिरोध र बहस पनि स्वाभाविक रुपमा लिनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले संसदमा अभिव्यक्त जनप्रतिनिधिका आवाजलाई सरकारले गम्भिरतापूर्वक सम्बोधन गर्दा त्यसले सुशासन कायम गर्न र असन्तुष्टिको निवारण गर्न मद्दत पु¥याउने पनि स्मरण गराउनु भयो ।
संसदमा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पु¥याउनसके संघीय संसदको गरिमा र समयको उचित सदुपयोग हुन्छ भन्ने आफूले ठानेको सभामुख घिमिरेको भनाई थियो । उहाँले संसद क्रियाशील र प्रवुद्ध भएमात्रै नीति निर्माणको कार्यमा गुणात्मक प्रभाव पार्नसक्ने बताउनु भयो ।
त्यस अवसरमा सभामुख घिमिरेले संसदको हिउँदे अधिवेशन (तेस्रो अधिवेशन) लाई प्रभावकारी बनाउन भुमिका खेल्नुहुने सबै सांसद, संसद सचिवालयका अधिकारीलगायत संवद्ध सबै पक्षप्रति आभार पनि व्यक्त गर्नुभयो
प्रतिनिधिसभाको तेस्रो अधिवेशन २०८० साल माघ २२ मा प्रारम्भ भई २०८१ साल वैशाख २ गते अन्त्य भएको हो ।













