अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका बिरुद्धमा कार्य नगर्न सरकारलाई काँग्रेसको चेतावनी

स्वर्णिम खबर
२ बैशाख २०८१, आईतवार ११:३३

२ वैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलको बैठकले अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका बिरुद्धमा कार्य नगर्न सरकारलाई चेतावनी दिएको छ ।
आईतवार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले सरकारले अर्को अधिवेशन बजेट अधवेशनका लागि पर्याप्त समय हुँदाहुँदै अप्रत्याशित र असामयिक रुपले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेकोतर्फ नेपाली काँग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट भएको बताउनु भयो । उहाँले संघीय संसदमा सबै विपक्षी दलहरुले आम नागरिकसँग प्रत्यक्ष सरोकार भएको सहकारीमा वचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगि भएको विषय उठाउँदै आएपनि सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो ।
उहाँले सरकारमा रहेका बहालवाला मन्त्रीसमेत संलग्न रहेको हुँदा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिनको सुनिश्चितताका निम्ति संसदीय छानबिन समिति गठन गर्नुपर्ने विषयमा सरकारलाई विपक्षीको मागप्रति गम्भीर हुन सत्तापक्षकै सांसदहरुले आग्रह गरेपनि सरकारले बेवास्ता गरेको बताउनु भयो ।
प्रमुख सचेतक लेखकले प्रतिपक्षको अवरोधका कारण संसद चल्न नसकेको भनि सत्तापक्षबाट हुने गरेका तर्क हाँस्यास्पद र लज्जास्पद भएको टिप्पणी गर्नुभयो । उहाँले नेपाली काँग्रेसले एक महिनादेखि सहकारी ठगीमा सरकारका उपप्रधान एवं गृहमन्त्रीको संलग्नताको विषय तथ्य र प्रमाणसहित उठाउँदै आएको तर संसदका कुनैपनि काम कारबाही अवरोध नगरेको जिकिर गर्नुभयो । उहाँले सरकारको अपरिपक्वता, गैर जिम्मेवारी र तानाशाही प्रवृत्तिका कारण दुई दिन संसद अवरोध भएको र त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भयो ।
उहाँले नेपाली काँग्रेस संसदीय दलको यो बैठक जनताका प्रत्यक्ष सरोकारका विषयमा गैरजिम्मेवार हुँदै संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको सरकारको निर्णयको घोर भत्र्सना र निन्दा गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले नेपाली काँग्रेससहित विपक्षी दलहरुले उठाउँदै आएको जनताले सहकारीमा जम्मा गरेको अर्बौं रकम हिनामिना ठगी भएको र उक्त जनबिरोधी अपराधजन्य कार्यमा स्वयं सरकारका मन्त्री संलग्न रहेको विषय घाम जस्तै छर्लङ्ग भइसकेको भन्दै सरकार उक्त विषयमा तथ्यपरक रुपले छलफल संवाद नगरी जनताका सवालमा गैरजिम्मेवार हुँदै संसदको अधिवेशन अन्त्य गरी भागेको घटनाले यस विषयलाई थप पुष्टि गरेको दाबी गर्नुभयो ।
काँग्रेस संसदीय दलको बैठकले नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना व्यक्त गर्ने निर्णय गरेको पनि प्रमुख सचेतक लेखकले बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*