राप्रपा लक्षित ओलीको टिप्पणीः संवैधानिक दायरामा आएर गतिविधि गरियोस्
१ वैशाख, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक दायरामा आएर राजनीतिक गतिविधिलाई अघि बढाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई चेतावनी दिनुभएको छ ।
गणतन्त्रमा नागरिकका अधिकार सुरक्षित रहने भएकाले संवैधानिक बाटोबाटै समस्या समस्याको समाधान गर्न सकिने भएकाले सोही अनुसारको गतिविधि अघि बढाउन उहाँले राप्रपालाई सचेत पनि गराउनु भयो । शनिवार काठमाडौंमा बुढानिलकण्ठ नगर अस्पतालको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले संविधान नै नमान्ने, परिवर्तन नै नमान्ने, जनताको सर्वोच्चता नै नमान्ने र एउटा मालिक चाहियो भनेर कुद्ने गतिविधि सह्य नहुने बताउनु भयो ।
उहाँले गणतन्त्रमा नागरिक सर्वोच्चता हुने भएकाले कुनै मालिकलाई स्थापना गरेर राज्य अघि बढ्न नसक्ने बताउनु भयो । अध्यक्ष ओलीले कुनैपनि माग सम्बोधन गर्न नेपालको संविधानले प्रतिवन्ध नलगाएकोतर्फ पनि राप्रपालाई सचेत गराउनु भयो ।
अध्यक्ष ओलीले मुलुकमा केही पनि भएको छैन भन्ने खालको निराशा पालेर नबस्न पनि युवालाई आग्रह गर्नुभयो ।













