गठबन्धनको सरकारबाट देशको आर्थिक विकास सम्भव छैनः नेता कोइराला
२२ चैत्र, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले गठबन्धनको सरकारबाट देशको आर्थिक विकास सम्भव नरहेको बताउनुभएको छ ।
नेता कोइरालाले गठबन्धनले राजनीतिक स्थिरता हुन नसक्ने बताउनुभयो । बिहीवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले देशमा स्थिरता दिन र विकास गर्न नेपाली काँगेस र नेकपा एमाले एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । उहाँले अहिले देश अफ्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गर्नुभयो । नेता कोइरालाले स्थिर सरकार दिनुपर्ने जरुरी भइसकेको उल्लेख गर्नुभयो । उहाँले विगतका अनुभव हेर्दा पनि नेपाली काँग्रेस र नेकपा एमाले मिलेपछि मात्रै संविधान बनेको भन्दै उहाँले देशलाई विकास गर्न नेकपा एमाले र काँग्रेस मिल्नुको विकल्प नरहेको बताउनु भयो ।
कोशी प्रदेश सरकार अब के हुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता कोइरालाले अहिलेको कोशी सरकार संविधानको धारा ५ बाट बनेको हो भन्ने हेक्का राख्नुपर्ने बताउनुभयो । कोशी सरकार विघटन भए मध्यावदीमा जाने स्पष्ट रहेको उहाँको भनाई छ । नेता कोइरालाले अहिले कोशी प्रदेश सरकार अल्पमतमा नरहेको र समर्थन फिर्ता लिएपछि पनि राजीनामा दिने वा नदिने भन्नेकुरा नैतिकताको कुरा रहेको बताउनुभयो ।
उहाँले राजीनामा नै दिनुपर्छ र विश्वासको मत लिनुपर्छ भन्ने नरहेको जिकिर गर्नुभयो ।













