काँग्रेसद्वारा अल्टिमेटम सकिएको घोषणा, संसदीय छानवीन समिति गठन नभए आगामी बैठक चल्न नदिने
२१ चैत्र, काठमाडौँ । नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउन काँग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री रवि लामिछाने सहकारी ठगि प्रकरणमा मुछिएको विषयलाई छानविन गर्न संसदीय समिति बनाउनका लागि दिइएको अल्टिमेटम सकिएको घोषणा गर्नुभएको हो । उहाँले विगतमा संसद अवरुद्ध भएको र तोडफोड समेत भएको आफूहरुले देखेको भन्दै प्रतिपक्षको विनम्रता र शालिनता कमजोरी लाग्यो भनेर प्रश्न समेत गर्नुभयो । उहाँले आगामी संसद बैठकमा संसदीय छानविन समिति बनाएर आउन सरकारलाई अपील गर्नुभयो । नेपाली काँग्रेस संसदीय छानविन समिति बनाउने कुरामा दायाँबायाँ नहुने उहाँको भनाई छ ।
सांसद शर्माले मलेसियाको कानूनमा कुनैपनि देशको कोही अभियुक्त भएमा सम्बन्धित देशले कुटनैतिक प्रक्रियाबाट माग गरेमा सुपूर्दगी गर्न सकिने उल्लेख गरिएको पनि बताउनु भयो । उहाँले किन जिबि राईलाई ल्याउन ढिलाइ भएको हो भनि प्रश्न गर्नुभयो । उहाँले जिबि राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहेको सूचना आफूहरुसँग रहेको पनि बताउनु भयो ।
उहाँले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको सहमति बिना अथवा कार्यव्यवस्था परामर्श समितिको सहमति बिना संसद बैठक सञ्चालनका लागि कार्यसूचि नराख्न सभामुखलाई आग्रह पनि गर्नुभयो ।













