सहकारी प्रकरणमा नाम मात्रै जोडिएको होः गृहमन्त्री लामिछाने

स्वर्णिम खबर
१४ चैत्र २०८०, बुधबार १५:३८

१४ चैत्र, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो नाम मात्रै जोडिएको भन्दै त्यसमा अन्य कुनै प्रमाण नभएको बताउनु भयो ।
बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले आफ्नो नाम भएको ठाउँमा हस्ताक्षर, ल्याप्चे, निवेदन अथवा सामान्य केवाइसी समेत नभएको बताउनु भयो । अदालतमा आफ्नो बिरुद्ध मुद्दा नभएको र प्रतिवादीहरुले समेत आफ्नो नाम नलिएको जानकारी आफूसँग रहेको उहाँको भनाई छ । सो प्रकरण आफू सरकारमा आउनुभन्दा अगाडीकै भएको भन्दै आफ्नो तर्फबाट कुनै कुरा प्रभावित नहुने बताउनु भयो ।
गृहमन्त्री लामिछानेले बाँसबारी छाला, जुत्ता कारखाना जग्गा प्रकरणमा सांसद विनोद चौधरीलाई कुनै प्रकारको प्रतिशोध नसाँधिएको स्पष्ट पार्नुभयो । उहाँले विधिको शासनलाई पालना गरेर अनुसन्धान गरिएको बताउनु भयो । गृहमन्त्री लामिछानेले पूर्ण व्यवसायिक मान्छेले व्यक्तिगत, राजनीतिक वा व्यवसायिक प्रतिशोधलाई मध्येनजर राखेर नहेर्ने भन्दै त्यस्तो व्यक्ति राज्यको निकायमा बस्न लायक समेत नहुने बताउनु भयो । उहाँले आफूले आफ्नो कार्यकालमा कुनै राजनीतिक पूर्वाग्रह नराख्ने पनि बताउनु भयो । गृहमन्त्री लामिछानेले कानूनले दिएको अधिकारलाई दुरुपयोग नगर्ने पनि बताउनु भयो ।
गृहमन्त्री लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियारको अनुमतिको सम्बन्धमा कानूनले दिएको भन्दा बढी अधिकार प्रदान गरिएको बताउनु भयो । उहाँले त्यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको पनि बताउनु भयो । अधिकारप्राप्त व्यक्तिभन्दा अन्य व्यक्तिको साथसँग हतियार रहेकाले प्रहरीले पक्राउ गर्नुपरेको उहाँको भनाई छ । यद्यपी सम्बन्धित व्यक्तिहरुलाई रिहाइ गर्ने सर्वोच्च अदालतको आदेशको सरकारले सम्मानपूर्वक ग्रहण गर्ने बताउनु भयो ।
गृहमन्त्री लामिछानेले राष्ट्रसेवक प्रहरीहरु कसैको भाडा माझेर र लुगा धोएर नबस्ने भन्दै सुरक्षा चुनौतिको अध्ययन बिना कसैलाई सुरक्षा अधिकृत नदिने बताउनु भयो । उहाँले कुनैपनि प्रकरणहरुमा दोषि देखिएकाहरुलाई नछोड्ने बताउनु भयो । कुनै व्यक्तिलाई त्यत्तिकै छोड्नुपर्ने अवस्था आएमा बरु आफूले पद छोड्ने गृहमन्त्री लामिछानेको भनाई छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*