गणतन्त्र ल्याउनेहरुले नै देशमा सुनतन्त्र ल्याएः सांसद सिंह
५ चैत्र, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् दिपकबहादुर सिंहले आफुलाई गणतन्त्रवादी भन्नेहरुले एकचोटी आत्मसमीक्षा गर्नुपर्ने बताउनुभएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्नुहुँदै सांसद् सिंहले गणतन्त्र आफुहरुले ल्याएको भन्दै दम्भ देखाउनहरुले राष्ट्र र जनताले के पायो भन्नेमा विचार गर्नुपर्ने बताउनुभयो । सांसद् सिंहले गणतन्त्रसंगै सरकारले सुनतन्त्र पनि ल्याएको बताउनुभयो । मकवानपुरको क्षेत्र नं.१ को सांसद् समेत रहनुभएका उहाँले माओवादी केन्द्रकै कारण देशमा गणतन्त्र आएको जिकिर गर्नुभयो । अरु राजनीतिक दलहरुले दिल्लीमा १० बुँदे सम्झौतामा हस्ताक्षर मात्रै गरेको सांसद् सिंहको भनाई छ । सरकारले बन्द रहेका उद्योगहरु चलाउने भनेर घोषणा गरेपनि चलाउने कुनै छाँटकाँट नदेखाएको उहाँले बताउनुभयो । सांसद् सिंहले हेटौंडा सिमेन्ट उद्योग बन्द हुने स्थितिमा पुगिसकेको समेत उल्लेख गर्नुभयो ।
सांसद् सिंहले सरकारले सहिदको नाममा पैसा दिनुभन्दा निर्माण व्यवसायीहरुको भुक्तानी गर्न बाँकी रहेको पैसा दिन सरकारसँग माग समेत गर्नुभयो ।













