राजनीतिक दलहरुलाई राष्ट्रपति पौडेलको आग्रहः संविधान कार्यान्वयनका लागि प्रण गरौँ
१ माघ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानून तत्काल निर्माण गर्न राजनीतिक दलहरुसँग आग्रह गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले संविधान कार्यान्वयनमा भएको कमीले जनतामा निराशा छाएको उल्लेख गर्दै त्यसलाई आशामा परिणत हुनेगरी राजनीतिक दलहरुले छिटोभन्दा छिटो आवश्यक कानूनहरुको निर्माण गरेर संविधान कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभएको हो । संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरुलाई राष्ट्रपति भवन शितल निवासमा बोलाएर उहाँले नेपाली जनताको चाहना र भावनाअनुसार अघि बढ्नका लागि संविधान कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई साकार पार्ने अठोट सबै राजनीतिक दलहरुले गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति पौडेलले आफूले राष्ट्रपति भएपछि भेट गरेका सबै विदेशी मित्र राष्ट्रका प्रतिनिधिहरुले पनि नेपालको संविधानको प्रशंसा गरेको उल्लेख गर्दै यसले जनतालाई दिएको अधिकार कार्यान्वयनका लागि कानून निर्माणमा गर्ने काममा ढिलाई गर्न नहुने बताउनु भयो ।
राष्ट्रपति पौडेलले माघीलाई नेपालको मौलिक पर्वको रुपमा चित्रण गर्दै सबैमा शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।













