एनसेल खरिदकर्तालाई आफूले पनि चिनेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति ओलीको आपत्ति
८ पुस, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एनसेल खरिद गर्ने व्यापारीलाई आफूले पनि चिनेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले संसदको राज्यको व्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेल खरिद गर्ने व्यापारीलाई ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले पनि चिनेको बताउनुभएको थियो । आईतवार पार्टीको हालै सम्पन्न झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राबारे सञ्चारकर्मीसँग संवाद कार्यक्रममा उहाँले राज्यको खर्बौं सम्पती नोक्शान हुने खालको बेथिति गर्नु र सो व्यापारी चिन्नु एउटै कुरा हो ? भनि प्रधानमन्त्री दाहाललाई प्रश्न समेत गर्नुभयो । सो सम्बन्धमा सरकारले लोकलाजको समेत ख्याल नगरेको ओलीको जिकिर थियो । उहाँले व्यक्तिको फाईदाका लागि राज्यको सम्पती डुबाउने कुरा तत्काल रोकिनुपर्ने बताउनु भयो ।
अध्यक्ष ओलीले वर्तमान सरकारबाट विकासको सपना देख्न नसकिने बताउनुभयो । उहाँले वर्तमान सरकारको कार्यशैलीबाट, कुशासनको चक्रव्युह, भ्रष्टाचार र कमिशनतन्त्रलाई निरन्तरता दिन नसकिने जिकिर गर्नुभयो । उहाँले मुलुकमा सुशासन दिने शासक चाहिने बताउनु भयो । अध्यक्ष ओलीले डेडिकेटेड लाईनबाट विद्युत उपयोग नगरेका उद्योगीहरुको विद्युत काट्ने काम नगर्न पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले संवादको माध्यमबाट डेडिकेटेड लाईन लिएका उद्योगीहरुको समस्या समाधान गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।
अध्यक्ष ओलीले राष्ट्र र जनताको हितमा पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने कुरा पनि जनताको बीचमा संकल्प गरेको बताउनुभयो ।













