पर्वतीय मुलुकहरुको समस्याहरुलाई रणनीतिक रुपमा उठान गर्नेछुः प्रधानमन्त्री

स्वर्णिम खबर
५ मंसिर २०८०, मंगलवार १७:३४

५ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप—२८) मा पर्वतीय राष्ट्रहरूको समस्याबारे विश्वको ध्यानाकर्षण गराउने बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित जलवायु परिवर्तन सम्बन्धि राष्ट्रिय सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पर्वतीय मुलुकहरुको समस्याहरुलाई रणनीतिक रुपमा उठान गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले विश्वका प्रमुख कार्बन उत्सर्जन कर्ताहरुलाई तत्काल उत्सर्जन घटाउन, विकसित राष्ट्रहरूलाई जलवायु वित्त उपलब्ध गराउन, वित्त अनुदानमा बढोत्तरी गर्न दबाब सिर्जना गर्ने पनि बताउनुभयो । प्रधानमन्त्री दाहालले सन् २०३० सम्म अनुकुलनका प्राथमिकता कार्यान्वयन गर्न नेपाललाई २१ बिलियन अमेरिकी डलर आवश्यक पर्ने उल्लेख गर्नुभयो । उहाँले अनुकुलन, उत्थानशीलता र हानि तथा नोक्शानी अवधारणा प्रवद्र्धनमा प्रदान गरिने वित्त अनुदान जलवायु न्यायको रुपमा पाउनुपर्ने सुनिश्चितताको लागि पैरवी र दाबी गर्ने बताउनु भयो ।
यसैगरी अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा कार्वन उत्सर्जन शुन्य बनाउन कुनै चुनौति नरहेको बताउनुभयो । उहाँले नेपालले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न अक्सिजन धेरै उत्पादन गर्ने र कार्वन उत्सर्जन कम गर्नको लागि ४५ प्रतिशत भू–भाग जङ्गलका रुपमा स्थापित गरिरहेको बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*