कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्छः महामन्त्री थापा
२ कार्तिक, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने बताउनुभएको छ ।
बिहीवार नेपाल प्रेस युनियन काठमाडौंले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कुनै एउटा पार्टीको मात्रै सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने बताउनुभएको हो । उहाँले समय निश्चित गरेर एउटा पार्टीलाई मात्रै सरकार चलाउन दिनुपर्ने धारणा राख्नुभयो । महामन्त्री थापाले सत्तारुढ गठबन्धनका नेताहरुले राष्ट्रिय सहमतिको सरकार गठनको कुरा गरिरहेको उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकार आवश्यक नरहेको बताउनुभयो । महामन्त्री थापाले निर्वाचन पूर्व काँग्रेसले कुनैपनि गठबन्धन नगर्ने स्पष्ट पार्नुभयो । उहाँले आगामी निर्वाचनमा काँग्रेस गठबन्धन गरेर गएमा काँग्रेस पार्टी एक नरहने बताउनु भयो ।
महामन्त्री थापाले निर्वाचन पूर्व गरिने गठबन्धनले लोकतान्त्रिक संस्कृतिलाई विकृत बनाउने बताउनु भयो । उहाँले निर्वाचन पूर्वको गठबन्धन सैद्धान्तिक रुपमा गलत रहेको उल्लेख गर्दै काँग्रेसका आगामी महासमिति बैठक निर्वाचन पूर्वको गठबन्धनको विपक्षमा उभिनुपर्ने उल्लेख गर्नुभयो । महामन्त्री थापाले वर्तमान सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाएमा नेपाली काँग्रेसले नमान्ने बताउनु भयो । उहाँले काँग्रेसले फागुन १ गतेलाई कुनैपनि दिवसको रुपमा स्वीकार नगर्ने प्रष्ट पार्नुभयो ।
महामन्त्री थापाले नेपाली काँग्रेसलाई रुपान्तरण गर्नुपर्ने भन्दै यसको निम्ति सबै पार्टी कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताउनु भयो ।













