अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन गैर आवासिय नेपालीहरुलाई राष्ट्रपतिको आग्रह
३० असोज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा बढाउन गैर आवासिय नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।
मंगलवार गैर आवासिय नेपाली संघको ११ औँ विश्व सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको आन्तरिक क्षमता वृद्धि गरी तिब्र आर्थिक विकास गर्नसके मात्रै विदेशमा बस्ने नेपालीको शिर उचो हुने बताउनुभयो । उहाँले देश विकसित भएमात्रै विदेशमा बस्ने नेपालीको शिर उचो हुने उल्लेख गर्दै नेपाल समृद्ध नभएसम्म नेपालीहरुको प्रतिष्ठा बढ्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले नेपाललाई सुशासन, विकास र समृद्धितर्फ लैजान गैर आवासिय नेपालीहरुको रणनीतिक भुमिका र दायित्व हुने बताउनु भयो ।
राष्ट्रपति पौडेलले नेपालमा जलविद्युत, पर्यटन, कृषि, पूर्वाधार, सूचना तथा सञ्चार र शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा लगानीको ठुलो सम्भावना रहेकाले त्यसतर्फ लगानी भित्राउनुपर्ने बताउनु भयो । उहाँले नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकरण र आन्तरिक उत्पादन लगायतको विकासमा केन्द्रीत भएको पनि बताउनु भयो । उहाँले आगामी दिनमा पनि गैर आवासिय नेपालीहरुले नेपालको विकास र समृद्धिका लागि लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति पौडेलले देश प्राकृतिक स्रोत, साधन र जैविक विविधताले सम्पन्न रहेको उल्लेख गर्दै यसको उपयोगका साथै संरक्षण, संवद्र्धन र प्रचार–प्रसारमा पनि जोड दिनुपर्ने बताउनु भयो ।













