राजनीति प्रति फैलिएको वितृष्णा तोड्नु जरुरी छः अध्यक्ष नेपाल
१९ असोज, हेटौँडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीति प्रति फैलिएको वितृष्णा तोड्नुपर्ने बताउनुभएको छ ।
समाजवादी जागरण अभियान २०८० अन्तर्गत शुक्रबार हेटौंडामा भएको जनसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले राजनीति प्रति जनतालाई भरोसा जोगाउन नै समाजवादी जागरण अभियान सञ्चालन गरेको बताउनुभयो । उहाँले गरिबी, बेरोजगारी जस्ता समस्यालाई समाधान गरेर नै जनतालाई सुखी बनाउन सक्ने धारणा व्यक्त गर्नुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले सरकारले भ्रष्टचारको अन्त्य गरी सुशासनको प्रत्याभुति दिलाउनुपर्ने बताउनुभयो । कृषि क्षेत्रमा आमुल परिवर्तन गर्नुपर्ने उहाँको भनाई छ । अध्यक्ष नेपालले जग्गा जमिन, पानीको सदुपयोग गरी नेपाललाई कृषि क्षेत्रमा आत्मनिर्भर मात्र नभई निर्यात गर्न सक्ने अवस्थामा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी जनसभालाई सम्बोधन गर्नुहुँदै समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कृषि क्षेत्रलाई आधुनिकीकरण र यान्त्रिकरण गर्नुपर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा सहज पहुँच पु¥याई देश भित्र रोजगारीको अवसर सिर्जना गर्नु नै समाजवादी कार्यक्रमको प्रमुख उद्देश्य भएको उहाँले उल्लेख गर्नुभयो । सामाजिक एकता कायम गर्ने, सुशासनको ग्यारेन्टी गर्ने र सीमाहरुको सुरक्षा गर्ने जस्ता कार्यक्रमहरुलाई लिएर आफुहरु जनताको बिचमा आएको उपाध्यक्ष पाण्डेले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपमहासचिव गंगालाल तुलाधार, सचिव रामकुमारी झाँक्री, बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, जिल्ला इन्चार्ज मुनु सिग्देल, केन्द्रिय सदस्य एवम् हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामा, जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहाल लगायतको आतिथ्यता रहेको थियो ।













