गृहमन्त्रीले सुन तस्करीलाई ढाकछोप गर्न खोजेः अध्यक्ष ओली

स्वर्णिम खबर
१६ आश्विन २०८०, मंगलवार १९:०२

१६ असोज, काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ सुन तस्करी प्रकरणलाई ढाकछोप गर्न लागेको आरोप लगाउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणलाई ढाकछोप गर्न लागेको बताउनुभएको हो । उहाँले भेपमा तस्करी भएको ९ किलो सुन र अर्को १०० किलो सुन तस्करी प्रकरणलाई गृहमन्त्रीले ढाकछोप गर्न लागेको बताउनुभएको हो । उहाँले गृहमन्त्रीले छानबिन आयोग समेत बनाउन नचाहेर स्वतन्त्र र निष्पक्ष छानविन सँग डराएको आरोप लगाउनुभयो । सरकारले सुशासनको अभियान सुरु गरेको बताउने गरेको भन्दै सुशासन कायम गर्नु सरकारको नियमित कर्तव्य भएको उहाँले बताउनुभयो ।
यसैगरी अध्यक्ष ओलीले भ्रष्टाचारका जुनसुकै फाइल खोल्न सरकारलाई चुनौती समेत दिनुभयो । सरकारले यो फाइल र त्यो फाइल खोल्छु भनेर कुरा मात्रै गरेको अध्यक्ष ओलीले टिप्पणी गर्नुभयो । उहाँले ललिता निवास जग्गा प्रकरणको फाइल खोलेपनि बन्द गर्न सरकारलाई निकै गाह्रो परेको बताउनुभयो । सत्ता गठबन्धनका मान्छे परेपछि उनीहरुलाई जोगाउनका लागि सरकारले पसिना छुटाउनु परेको अध्यक्ष ओलीको भनाई थियो । उहाँले यो र त्यो फाइल खोल्छु भनेर प्रतिपक्षलाई तर्साउन लागेको भन्दै सरकारको ब्ल्याकमेलिङबाट आफूहरु नर्तसिने दाबी गर्नुभयो ।
अध्यक्ष ओलीलेसंविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको बिरोध समेत गर्नुभयो । उहाँले एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोकेपनि सरकारले छोडेकोप्रति आपत्ति जनाउनुभएको हो । सम्बोधनको क्रममा अध्यक्ष ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री तयार नभएको आरोप लगाउनुभयो । उहाँले फागुन १ गतेलाई सरकारी बिदा दिनेकुरा मान्य नहुने भन्दै फागुन १ गते दिने बिदाको निर्णयलाई फिर्ता नलिए आफूहरुले कदम चाल्नुपर्ने चेतावनी समेत दिनुभयो ।
अध्यक्ष ओलीले राष्ट्रिय एकता, सद्भाव र सहिष्णुताका विषयमा सबै राजनीतिक दलहरुलाई एकतावद्ध हुन आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*