सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भइरहेको छः गृहमन्त्री श्रेष्ठ

स्वर्णिम खबर
४ आश्विन २०८०, बिहीबार १८:१८

४ असोज, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भइरहेको भन्दै यसप्रति सचेत हुन अपिल गर्नुभएको छ ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले सामाजिक सहिष्णुता र सौहार्दतालाई कमजोर पार्ने गतिविधिहरु भइरहेको बताउनुभएको हो । उहाँले नेपालको बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक पहिचान रहेको भन्दै आपसी एकता, सहिष्णुता र सौहार्दतालाई कुनैपनि हालतमा कमजोर हुन दिनु नहुने उल्लेख गर्नुभयो । उहाँले सहिष्णुता कमजोर पार्ने प्रयत्नका बिरुद्धमा सरकारले कानूनी र प्रशासनिक रुपमा हस्तक्षेप गर्ने स्पष्ट पार्नुभयो । गृहमन्त्री श्रेष्ठले समाजमा ‘हेट स्पिच’ बढेर गएको भन्दै यसलाई सरकारले गम्भिरतापूर्वक लिएको बताउनुभयो । सामाजिक सञ्जालमा व्याप्त ‘हेट स्पिच’लाई नियमन गर्न सरकारले सरसल्लाह गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
गृहमन्त्री श्रेष्ठले सरकारले दलित र महिलामाथि हुने उत्पीडन र विभेदलाई प्रभावकारी ढंगले नियन्त्रण गरी अपराधी र दोषिलाई कारबाही गर्ने कुरालाई विशेष अभियानको रुपमा अगाडी बढाएको बताउनु भयो । त्यस्तै जेल सुधार पनि अभियान अगाडी बढाउन खोजिएको उहाँको भनाई छ । उहाँले नागरिकता नियमावली पारित भइसकेको उल्लेख गर्दै केही दिनमै राजपत्रमा प्रकाशित हुने र नागरिकता वितरणलाई सहज बनाइने बताउनु भयो ।
नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको बताउनुभएको छ । महानिरीक्षक कुँवरले प्रहरी समक्ष आर्थिक क्षेत्रका उजुरीहरुपनि धेरै आउन थालेको भन्दै यसले प्रहरीलाई समेत समस्या परिरहेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*