संविधानको मुल मर्मलाई पालना गर्नु सबैको साझा दायित्वः प्रदेश प्रमुख शर्मा

स्वर्णिम खबर
३ आश्विन २०८०, बुधबार १२:५४

३ असोज, हेटौँडा । बागमती प्रदेशका प्रमुख यादब चन्द्र शर्माले संविधानको मुल मर्म र भावनालाई पालना गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ ।
संविधान दिवस २०८० को अवसरमा बागमती प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख शर्माले संविधान जारी भएको दिन असोज तीन गते ऐतिहासिक दिन भएको बताउनुभयो । जनताले रगत पसिना बगाएर ल्याएको संविधानसभाबाट निर्वाचित प्रतिनिधीहरूले विद्यमान संविधान निर्माण गरेको उहाँले स्मरण गर्नुभयो । संविधान र संघीयता प्रतिको विष वमन विरोधाभाषपूर्ण विषय रहेको उहाँले बताउनुभयो । संविधानको अक्षरसः पालना, रक्षा तथा कार्यान्वयन गरेमात्रै लोकतान्त्रिक आन्दोलन र सहीद प्रती सच्चा श्रदाञ्जली हुने उहाँको भनाई थियो । संविधान प्राप्तीले लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली निर्देशित शासन व्यवस्था मार्फत दिगो शान्ति, सुशासन र विकासको मार्गचित्र कोरेको प्रदेश प्रमुख शर्माले बताउनुभयो ।


यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संविधानले प्रदान गरेको सबै अधिकार प्रदेशले पाउनुपर्ने बताउनुभयो । नेपालको संविधानको आफ्नै विशेषता रहेको समेत उहाँले दाबी गर्नुभयो । प्रदेश सरकार संविधानको अक्षरस कार्यान्वयन गर्न पूर्ण रुपमा प्रतिबद्ध रहेको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । एउटा व्यवस्था स्थापना गर्न पुरानो व्यवस्था विस्थापित हुनु स्वभाविक भएको उहाँको भनाई थियो । जनतालाई जागरुक बनाउनु नै संविधानका पक्षधरहरुको मुख्य दायित्व रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका मन्त्रीहरु, सचिवहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, कर्मचारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो । यस अघि हेटौंडाको बुद्धचोकबाट प्रभातफेरी निकालिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*