बागमती प्रदेशसभा भवन अगाडि चिकित्सकहरुको धर्ना

स्वर्णिम खबर
३० भाद्र २०८०, शनिबार १७:५३

३० भाद्र, हेटौँडा । हेटौँडामा डाक्टरमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले बागमती प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन गरेका छन् ।
प्लेकार्ड बोकेर जम्मा भएका चिकित्सकहरूले सुरक्षा माग गर्दै घटनाका दोषीमाथि कडा कारबाहीको माग गरेका हुन् । विरोध प्रदर्शनमा पुगेका चिकित्सकहरूले अब त अति भो, स्वदेशमा उपचार सेवा गर्नुभन्दा खाडी बेस हो ?, उपचारका लागि औजार बोक्ने कि सुरक्षाका लागि हतियार, सुरक्षा नपाएसम्म सेवा नदिनेजस्ता प्लेकार्ड बोकेका थिए । उनीहरुले शुक्रबारदेखि अस्पतालको आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरेर कुटपिटमा संलग्नहरुलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आएका छन् । हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ हरीबहादुर खड्काले प्रदेश सांस्दहरुको ध्यानाकर्षण गर्न सचिवालय अगाडी धर्नामा बसेको बताउनुभयो । घटनामा संलग्न चारजनालाई पक्राउ गरिएपनि अन्यलाई प्रहरीले पक्राउ गर्न तदारुकता नदेखाएको भन्दै दबाव दिन आफुहरु धर्नामा बस्नुपरेको उहाँको भनाई छ ।
यता प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले धर्नामा बसेका चिकित्सकहरुलाई भेटी घटनाका दोषीलाई कारबाही गर्ने आश्वसन दिनुभयो । मन्त्री जोशीले चिकित्सकहरुलाई भयरहित ढंगबाट काममा फर्कने वातावरण बनाउनु प्रशासनको दायित्व भएको उल्लेख गर्दै तत्काल भएका कमिकमजोरीलाई सुधार गरेर चिकित्सक र आमनागरिकले सुरक्षित जीवनयापन गर्न सक्ने वातावरण निर्माणमा लाग्ने बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*