प्रादेशिक संरचना बलियो भएमात्र गणतन्त्र मजबुत हुन्छः मन्त्री श्रेष्ठ
२७ भाद्र, हेटौँडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रादेशिक संरचना बलियो भएमात्र गणतन्त्र मजबुत हुने बताउनुभएको छ ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले प्रादेशिक संरचना संघीयताको खम्बा भएकोले यसलाई बलियो बनाउनुपर्ने बताउनुभयो । संघीय सरकारले कानुन निर्माणमा ढिलाई गर्दा संघीयताको पूर्ण कार्यान्वयन अझै हुन नसकेको उहाँको भनाई छ । प्रहरी ऐन, निजामती ऐन, शिक्षा ऐन नआउँदा प्रादेशिक संरचनाले गति लिन नसकेको मन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले पुराना कानुनहरुलाई संविधान र संघीयता बमोजिम परिमार्जन गर्न केन्द्र सरकारले ध्यान दिनुपर्ने जिकिर समेत गर्नुभयो ।
पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संविधानमा उल्लेखित मौलिक अधिकारको विषयमा कानुन निर्माण हुन नसक्दा जनताको अपेक्षा पुरा हुन नसकेको बताउनुभयो । आर्थिक समृद्धि हासिल गर्न संघीय सरकारले स्थानीय र प्रदेश सरकारलाई पनि संगसंगै अगाडि बढाउनुपर्ने उहाँको भनाई छ । गाउँगाउँमा सिहंदरबार भन्ने संविधानको परिकल्पनालाई साकार पर्न प्रशासनिक संरचनालाई सर्वसुलभ र सहज बनाउनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो ।
मन्त्री श्रेष्ठले तीन तहका सरकारबीच सहकार्य र समन्वयबाट नै राष्ट्रिय आवश्यकता पुरा हुने बताउनुभयो ।
यसैगरी पत्रकार सम्मेलनमा संविधान दिवसलाई भव्य रुपमा मनाउने उद्देश्यले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति गठन गरिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । दिवसको अवसरमा असोज २, ३ र ४ गते प्रदेश मन्त्रालय, कार्यालय र सार्वजनिक स्थानको विशेष सरसफाई गर्ने, तीनै दिन साँझ सबै सार्वनजिक एवं सामुदायिक संघ संस्था, शैक्षिक प्रतिष्ठानमा दिपावली गर्ने, सार्वजनिक निकायमा राष्ट्रिय झण्डा फहराउने, प्रदेश मन्त्रालय÷निकायहरुको वेवसाइटमा संविधान दिवस २०८० लेखिएको व्यानर राख्ने भएको छ । त्यस्तै, असोज २ गते १३ वटै जिल्लामा मधुमेह तथा रक्तचापको निशुल्क परिक्षण र हेटौंडामा रक्तदान कार्यक्रम गर्ने, १३ वटै जिल्लामा वृक्षारोपण गर्ने निर्णय गरेको छ । असोज ३ गते प्रादेशिक विविधता झल्कने गरी मार्चपास एवं प्रभातफेरी कार्यक्रम गर्ने, प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्राङगणमा विशेष कार्यक्रम गर्ने तयारी भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।













