सरकार प्रमुखलाई मुद्दा मामिलामा फसाउने षडयन्त्र हुँदैछः प्रधानमन्त्री दाहाल
२४ भाद्र, हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकारले अघि सारेका भष्ट्राचार विरोधी अभियानलाई असफल पार्ने षडयन्त्र भइरहेको बताउनुभएको छ ।
समाजवादी मोर्चा बागमती प्रदेशले आइतबार हेटौंडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले सरकारलाई असफल बनाउँन अवरोध सृजना गर्ने प्रवृत्ति देखिएको गुनासो गर्नुभएको हो । सरकार प्रमुखलाई मुद्दा मामिलामा फसाउने समेतका षडयन्त्र भएको उहाँले जिकिर गर्नुभयो । बर्तमान सरकारले सुशासन र सामाजिक न्यायलाई प्राथमिकताका साथ अघि बढाएको समेत प्रधानमन्त्री दाहालले दाबी गर्नुभयो । कम्युनिष्ट पार्टीहरुले विगतको अनुभवबाट सिक्दै जुटेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधव कुमार नेपालले सरकारले आफ्ना कमी कमजोरीलाई सुधार गर्नुपर्ने धारणा राख्नुभयो । उहाँलेसरकारलाई सदन र सडक दुवैबाट दबाब दिन जरुरी रहेको औंल्याउनुभयो । मोर्चाका संयोजक समेत रहनुभएका उहाँले भ्रष्टाचार मुक्त, विकासको सुरुवात र राष्ट्रिय अखण्डताको पक्षमा मोर्चाले काम गर्ने बताउनुभयो । यस्तै संविधानको पूर्ण कार्यान्वयनका लागि मोर्चाले काम गर्ने उहाँको भनाइ थियो ।
यस्तै कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द विप्लवले समाजवादी मोर्चा परिस्थितिको उपज भएको बताउनुभयो । प्रधानमन्त्रीले भ्रष्टचार विरोधी अभियान थाल्दा चारैतिरबाट घेराबन्दी हुन थालेको महासचिव विप्लवको भनाई थियो । प्रधानमन्त्री सरकारबाट लड्नुपर्ने र आफुहरु सडकबाट लड्ने उहाँले उद्घोष गर्नुभयो । सत्ता अहिले पनि दलाल र पुँजीपतिहरुले चलाई रहेको उहाँले आरोप लगाउनुभयो ।
कार्यक्रममा जनता समाजबादी पार्टीका नेता शिबराज थापा मगर, माओवादी केन्द्रका नेता हरिबोल गजुरेल लगायतको उपस्थिती थियो ।













