प्रधानमन्त्री प्रचण्डसहित माधव नेपाल, उपेन्द्र यादव र विप्लव आइतबार हेटौंडामा आउने
२३ भाद्र, हेटौँडा । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आइतबार हेटौंडामा समाजवादी मोर्चाको बागमती प्रदेश स्तरीय कमिटी घोषणा हुने भएको छ ।
शनिबार पत्रकार सम्मेलन मार्फत् मोर्चामा आवद्ध राजनीतिक दलहरूले आइतबार हुने सन्देश सभा र घोषणा सभाका विषयमा जानकारी गराउँदै आवश्यक तयारी पूरा भएको जानकारी दिएको छ । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा रहेका छन् । प्रधानमन्त्री प्रचण्डसहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव विप्लवले संयुक्त रुपमा मोर्चाको प्रदेश कमिटी घोषणा गर्ने छन् । साथै आइतबार हुने कार्यक्रममा मोर्चामा आवद्ध राजनीतिक दलका कार्यकर्ताहरूलाई मोर्चाको अवधारणाबारे प्रशिक्षण दिइने नेकपा एकीकृत समाजवादी पार्टीकी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिनुभयो ।













