एमालेभित्र बिस्फोट हुन्छ, देशव्यापी रुपमा पहिरो जान्छः झलनाथ खनाल
२० भाद्र, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र बिस्फोट हुने बताउनुभएको छ ।
बुधवार नेपाल आदिवासी जनजाती महासंघ(समाजवादी)को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा(एमाले)भित्र बिस्फोट र बिद्रोह हुने बताउनुभएको हो । उहाँले एमालेभित्र देशव्यापी रुपमा पहिरो जाने बताउनु भयो । उहाँले एमालेको दक्षिणपन्थि कार्यदिशाका कारण पार्टी भित्रैबाट बिद्रोह हुने उल्लेख गर्नुभयो । नेता खनालले जनताको बहुदलिय जनवादबाट समाजवाद आउँदैन भन्नेकुरा एमालेले बुझ्नुपर्ने बताउनुभयो । उहाँले एमाले राप्रपा, लोसपा र काँग्रेस जो सँग पनि गठबन्धन गर्न तयार भएको समेत टिप्पणी गर्नुभयो ।
सम्मानित नेता खनालले एमसीसी पारित भएसँगै प्रत्येक महिना अमेरिकी नेताहरु नेपाल आइरहेका भन्दै यसप्रति आशंका व्यक्त गर्नुभयो । उनीहरु नेपाल आएर सबभन्दा पहिले तिब्बती शरर्णार्थीहरुलाई भेटिरहेका उहाँले बताउनु भयो । उहाँले अमेरिकीहरुको नेपालप्रतिको चासोलाई मित्रराष्ट्र चिनसँग जोडेर पनि हेर्नुपर्ने बताउनु भयो ।
उहाँले एउटा छिमेकी राष्ट्र नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर लागेको र पश्चिमी राष्ट्रहरु नेपालमा क्रिश्चियन धर्म प्रचारमा लागेको भन्दै यसतर्फ नेपालीहरु सचेत हुनुपर्ने बताउनु भयो । सम्मानित नेता खनालले आफूहरु आगामी चुनावमा कुनै पार्टीसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनु भयो ।













