हेटौंडा बजारको सडक २५ मिटर विस्तार हुनुपर्छः सचेतक बर्तौला
१५ भाद्र, हेटौँडा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले हेटौंडा बजारको सडक २५ गज नभई २५ मिटर विस्तार हुनुपर्ने बताउनुभएको छ ।
प्रेस चौतरी मकवानपुर शाखाले शुक्रबार हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै सचेतक बर्तौलाले सडकको दायाँबायाँ २५–२५ मिटर विस्तार गर्नुपर्ने धारणा राख्नुभयो । हेटौंडाको लागि सडक विस्तार आवश्यक रहेको पनि उहाँले बताउनुभयो । सडक विस्तारको नाममा सर्वसाधारणलाई भने सुकुम्बासी बनाउन नमिल्ने उहाँले तर्क समेत गर्नुभयो । सचेतक बर्तौलाले हेटौँडामा लामो समयदेखि व्यवसाय गरेर बसेकाहरुलाई उचित व्यवस्थापन गरेर सडकलाई फराकिलो पार्नुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधिहरु विकास विरोधी बन्न नहुने समेत बताउनुभयो । जनगुनासोलाई समेत सम्बोधन गर्ने गरी सरकार अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो ।
फरक प्रसंगमा सचेतक बर्तौलाले प्रधानमन्त्री प्रचण्ड नै सामाजिक सद्भाव खल्बलाउन लागि परेको आरोप लगाउनुभयो । कोशी प्रदेशमा भएको द्वन्द्वको जिम्मेवारी स्वयम् प्रधानमन्त्रीले लिनुपर्ने उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा सचेतक बर्तौलाले देशको लागि बामपन्थी सरकार आवश्यक भएपनि प्रधानमन्त्री कै कारण बामपन्थी सरकार बन्न नसकेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसलाई बुढो हात्तीको संज्ञा समेत दिनुभयो । संसद्को ठुलो पार्टी भएपनि कांग्रेस प्रचण्ड पथमा हिडँको उहाँले आरोप लगाउनुभयो । प्रचण्ड नेतृत्वको सरकारको आयु जति लामो हुन्छ त्यति नै देशले दुःख पाउने समेत उहाँले जिकिर गर्नुभयो । सचेतक बर्तौलाले नेकपा एमाले सरकार परिवर्तनको खेलमा नलाग्ने समेत स्पष्ट पार्नुभयो ।













