संसदीय समितिसँग लेनदेन भन्नेकुरा झुटो, कोशीमा मुख्यमन्त्री नै पाएका थियौँः अध्यक्ष लिङदेन

स्वर्णिम खबर
१२ भाद्र २०८०, मंगलवार १२:२१

१२ भाद्र, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङदेनले संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोडेको भन्दै आपत्ति जनाउनुभएको छ ।
साउदी अरब भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसिएर प्रचार गरेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनु भयो । उहाँले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेन सहमति नभएको दाबी गर्नुभयो । उहाँले कोशी प्रदेशमा राप्रपाले सघाउने कुरा अब चाहेर पनि हुन नसक्ने बताउनु भयो । उहाँले राप्रपालाई कोशी प्रदेशमा मुख्यमन्त्रीको अफर आएको समेत दाबी गर्नुभयो ।
अध्यक्ष लिङदेनले देशको समसामयिक राजनीतिक परिस्थितिमा बहुसंख्यक जनताको आस्थामा चोट पुग्ने काम भइरहेको बताउनु भयो । उहाँले यो हुनुमा दिल्लीमा बनेको १२ बुँदे सहमति त्यसले देखाएको मार्गचित्र र अहिले पनि खासगरी बहुसंख्यक जनताको आस्थामा चोट पुग्नेगरी भइरहेको क्रिायकलापमा सरकारी उदासिनता र धर्मनिरपेक्षताका दुष्परिणाम रहेको जिकिर गर्नुभयो ।
अध्यक्ष लिङदेनले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्नको लागि हिन्दु, बुद्ध, किराँत लगायत सबै धर्मलाई समान सम्मानसहितको हिन्दुराष्ट्र देशको आवश्यकता भएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*