राष्ट्रिय हितको लागि दलहरुले आपसमा संवाद गर्नुको विकल्प छैनः राष्ट्रपति पौडेल

स्वर्णिम खबर
५ भाद्र २०८०, मंगलवार ११:३८

५ भाद्र, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वार्थ र हितका लागि दलहरुले आपसमा वार्ता, संवाद र छलफल गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित सर्बलदीय बैठकमा राष्ट्रपति पौडेलले राष्ट्रिय राजनीतिमा देखापरेको समस्या वार्ता र सम्वादबाटै सुल्झाउन दलहरुलाई आग्रह गर्नुभएको हो । उहाँले लोकतन्त्रको सुन्दर पक्ष भनेकै समस्या समाधानका लागि दलहरुबीचको आपसी छलफल रहेको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले देशको आर्थिक अवस्थामा शिथिलता देखिएको स्थितिमा सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन समयमा पास गर्न नसकिए विदेशी लगानी रोकिन सक्ने तर्फ पनि दलहरुलाई सचेत गराउनुभएको थियो । राष्ट्रपति पौडेलले आफू सक्रिय हुन नखोजेको समेत प्रष्ट पार्नुभयो । उहाँले संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा आफू सधैँ चिन्तित रहेको बताउनुभयो । शक्ति पृथकीकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हिँड्न सकेका छौँ कि छैनौँ भनेर पनि सोच्नुपर्ने बेला भएको उहाँको भनाइ छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि आवश्यक र महत्त्वपूर्ण कानुन बन्न नसकेको भनेर चौतर्फी प्रश्न उठिरहेको उल्लेख गर्दै उहाँले सत्य निरुपण, बेपत्ता तथा मेलमिलापसम्बन्धी कानुनी विषय टुङ्ग्याउन नसकिए नागरिकले खोजेको शान्तिको चाहना पूरा हुन नसक्ने बताउनुभयो । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वदलीय बैठक बहिष्कार गरेको छ । राष्ट्रिय राजनीतिमा राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएको भन्दै एमालेले उक्त बैठक बहिस्कार गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*