संसदीय सुनुवाई समितिद्वारा प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम अनुमोदन
४ भाद्र, काठमाडौँ । संसदीय सुनुवाई समितिले प्रश्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको नाम अनुमोदन गरेको छ ।
सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । योग्यता, क्षमता र अनुभव समेतलाई आधार बनाई समितिले प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको समितिका ज्येष्ठ सदस्य सभापति पशुपति समशेर जबराले जानकारी दिनुभयो । प्रश्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले न्याय सम्पादनलाई चुस्त र व्यवस्थित बनाउनको लागि १८ पृष्ठको योजना पेस गर्नुभएको छ । उहाँले पारिवारिक अदालत स्थापनाका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । प्रधानन्यायाधीश श्रेष्ठले सबै अदालतमा रिक्त रहेका न्यायाधीशहरुको दरबन्दी पूर्तिका लागि यथाशिघ्र प्रक्रिया अघि बढाइने समेत बताउनुभयो ।
प्रश्तावित प्रधानन्यायाधीश श्रेष्ठले चालु आर्थिक वर्ष भित्र जिल्ला अदालत र उच्च अदालतमा दुई वर्ष नाघेका मुद्दाहरुलाई शुन्यमा ल्याउने योजना पनि सुनाउनुभयो । उहाँले सर्वाेच्च अदालतमा वक्यौता मुद्दा न्युनिकरणसम्बन्धि विशेष अभियानलाई निरन्तरता दिई अदालतको समग्र मुद्दा फछ्र्यौटको संख्या वृद्धि गर्ने रणनीति अख्तियार गर्ने समेत बताउनु भयो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले गत साउन २० गते उमेरहदका कारण सेवाबाट अवकाश लिएपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश श्रेष्ठलाई संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।













