चीन भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा दूरगामी सहमति जुट्छः प्रधानमन्त्री प्रचण्ड
१ भाद्र, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा दूरगामी सहमति जुट्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणको ३८ औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले हालै भएको भारत भ्रमणका क्रममा १० हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने प्रारम्भिक सहमति भएको स्मरण गर्नुभयो । त्यो समझदारीलाई मूर्तरुप दिन नेपाल र भारतका अधिकारीहरु निरन्तर संवादमा रहेको उहाँले बताउनुभयो । बंगलादेशमा विद्युत् निर्यातका लागि सम्झौतामा हस्ताक्षरको अन्तिम तयारी भइरहेको समेत प्रधानमन्त्री प्रचण्डले जानकारी दिनुभयो । अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाइ उल्लेख्य परिमाणमा नेपाल–बंगलादेश विद्युत व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने परिस्थिति बनेको उहाँको भनाई छ ।
प्रधानमन्त्री दाहालले सरकारले ऊर्जा संरचनाको निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले सरकारले नयाँ विद्युत ऐन र अन्य आवश्यक नीति, निर्देशिका ल्याउन कुनै कसर बाँकी नराख्ने पनि स्पष्ट पार्नुभयो । उहाँले नेपालले ग्रिन हाइड्रोजन उत्पादन र प्रयोगमा पनि ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको बताउनु भयो । उहाँले ग्रिन हाइड्रोजन सम्बन्धी नीति जारी गर्ने पनि जानकारी दिनुभयो ।
उहाँले आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत पु¥याउनेगरी विद्युत प्राधिकरण लागिपरिरहेको बताउनु भयो । उहाँले सरकारले विद्युतीय सवारी साधन र विद्युतीय चुल्होमा प्रोत्साहन गरिरहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले विकासका काममा राजनीति नगरी सबै एकजुट हुनुपर्ने बताउनु भयो ।













