माधव नेपालको स्पष्टीकरणः बालुवाटार जग्गा प्रकरणमा मेरो संलग्नता छैन
२९ साउन, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ ।
सोमवार युरोपेली देशहरुको भ्रमण छोट्याएर स्वदेश फर्किनुभएका उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनशायले ७ रोपनी जग्गा सरकारको नाममा फिर्ता गरेको, र कसैलाई मुआब्जा नदिन कानूनसम्मत ढंगले छुट्याएर काम गरेको स्पष्ट पार्नुभयो अध्यक्ष नेपालले आफू पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन जाने अघिल्लो दिन सर्वोच्च अदालतले आफूमाथि अनुसन्धान गर्न आदेश दिएको तर पूर्वनिर्धारित कार्यक्रममा गएपछि सञ्चारमाध्यमहरुले आफू भागेको भ्रम फैलाएको आरोप लगाउनु भयो ।
अध्यक्ष नेपालले आफू गोली हान्न लाग्दासमेत नभागेको भन्दै अनुसन्धान गर्ने कुराले नभाग्ने बताउनुभयो । उहाँले आफूले कुनै गलत काम नगरेको भन्दै चुनौतिको सामना गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो । अध्यक्ष नेपालले जग्गा प्रकरणको छानबिनमा आफ्नो सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष नेपाल साउन २२ गते स्वीजरल्याण्ड, स्पेन, क्रोशिया र युनाइटेड किङडम (युके) लगायतका युरोपेली मुलुकको भ्रमणमा निस्किनुभएको थियो ।













