प्रदेश सरकार नागरिक र संसदबाट बेखबर बन्योः नेता थपलिया
२८ साउन, हेटौँडा । बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता जगन्नाथ थपलियाले प्रदेश सरकार नागरिक र संसदबाट बेखबर भएको आरोप लगाउनुभएको छ ।
एमाले संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेता थपलियाले प्रदेशका नागरिक बाढी, पहिरोको चपेटामा रहेपनि सरकार भने मन्त्रालय फुटाउनमा व्यस्त रहेको बताउनुभयो । बजेट पास भएर अर्को सूचना नआउञ्जेल सम्मका लागि भनेर स्थगित गरिएको प्रदेश सभाको अर्को बैठक झण्डै डेढ महिना हुँदा पनि बस्न नसकेकोमा उहाँले आपत्ति जनाउनुभयो । अहिले नागरिकहरु रोग र भोकसँग मात्र हैन विपद्सँग पनि लडिरहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले गर्नुपर्ने धेरै कामहरु छन् तर सरकार मन्त्रालय फुटाउँदै मन्त्रीहरु थप्ने र राज्यलाई व्ययभार बढाउनेतर्फ केन्द्रित रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारको काम कारवाही संघीयता विरोधी गतिवधिलाई प्रोत्साहन गर्ने खालको भएको उहाँको भनाई थियो ।
यसैगरी पत्रकार सम्मेलनमा नेता थपलियाले प्रदेश सभा सञ्चालन भएको ७ महिना भइसक्दा पनिसंसदीय समितिको पहिलो बैठक नै बस्न नसकेकोमा आपत्ती जनाउनुभयो । सरकारको लापरवाहीकै कारण मिनी संसद भनिने संसदीय समिति सक्रिय हुन नसकेको उहाँले बताउनुभयो । प्रदेश सभाको बैठक तत्काल बोलाई आमनागरिकका समस्याहरुका बारेमा सांसद्हरुलाई सदनमा छलफल गर्ने व्यवस्था मिलाउन पनि नेता थपलियाले सरकारसंग माग गर्नुभयो ।
पत्रकार सम्मेलनमा बागमती प्रदेशका एमाले सचेतक मधुसुधन पौडेल, सांसदहरु एकालाल श्रेष्ठ, कृष्ण सिल्वाल, हरि प्रसाद सापकोटा लगायतकाको सहभागिता रहेको थियो ।













