प्रधानमन्त्री दाहाल आफैँले पदबाट राजीनामा दिनुपर्छः अध्यक्ष ओली
२८ साउन, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्नुभएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालयमा च्यासलमा आयोजित पत्रकार सम्मेलनमा राखिएका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकार अयोग्य र भ्रष्टताको चाङमा उभिएको भन्दै प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिन सुझाव दिनुभयो । उहाँले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नगरेर पदमा बसिरहेको देख्दा आफू आश्चर्यमा परेको पनि दोहो¥याउनु भयो । उहाँले सुन तस्करी प्रकरणमा उच्च स्तरीय स्वतन्त्र छानबिन समितिको मागबाट एमाले पछि नहट्ने समेत स्पष्ट पार्नुभयो । सरकारले संसदीय छानबिन बनाउन सक्ने संकेत दिएको अवस्थामा अध्यक्ष ओलीले संसदीय समितिहरुमा सत्तापक्षको बहुमत रहेकाले स्वतन्त्र छानबिन हुन नसक्ने भन्दै उच्च स्तरीय समिति बनाउनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष ओलीले आफ्नो पार्टीको ध्यान सत्तातिर नरहेको स्पष्ट पार्नुभयो । सुन तस्करीको हल्ला चलाएर एमाले अहिले सत्तामोह तिर लागेको भन्नेकुरा सत्य नभएको अध्यक्ष ओलीले दाबी गर्नुभयो । अध्यक्ष ओलीले सरकार आफैँले संसद चल्न नदिएको समेत दोहो¥याउनु भयो । संसद अवरोध हुनु राम्रो नभएपनि सरकार आफैँले त्यस्तो खालको परिस्थिति निर्माण गरेको उहाँको तर्क थियो । अध्यक्ष ओलीले सरकारले प्रतिपक्षलाई संसदमा बोल्न नदिएको भन्दै आपत्ति जनाउनु भयो ।
अध्यक्ष ओलीले कुनै कांग्रेस सांसद सुनिल शर्माले सुन तस्करीबारे संसदमा आवाज उठाएकाले उहाँलाई कुनै कार्यकर्तालाई उजुरी हाल्न लगाएर पक्राउ गर्नु गलन भएको टिप्पणी गर्नु भयो ।













