जनताले अनुभूति गर्नेगरी काम गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन
२५ साउन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नतिजा देखिने र जनताले अनुभूति गर्नेगरी काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभएको छ ।
आर्थिक वर्ष २०७९÷८० को समीक्षा र आर्थिक वर्ष २०८०÷०८१ को कार्यसम्पादन सम्झौतापछि सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधार, सुशासन र भ्रष्टाचार नियन्त्रणमा केही काम भएता पनि उल्लेख्य सुधार हुन नसकेको बताउनुभयो । उहाँले विकासको मोडेलमा नै परिवर्तन गरेर अघि बढ्नुपर्ने बताउनुभयो । यही संरचनाबाट परिवर्तन संभव छ भन्ने सन्देश दिनुपर्ने भन्दै राजनीतिक नेतृत्वको स्पिरिट र इच्छाशक्तीलाई परिणाममा लैजान कर्मचारीहरूले संकल्प गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले केही ठाउँमा राम्रा कामको सुरूआत गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले दोषी कोही नछुट्ने निर्दोष कोही नपर्नेगरी राष्ट्र र जनताको हितमा काम भइरहेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद्ले गरेका निर्णयहरू पनि लागू नभएको भन्दै सचिवहरू तथा मन्त्रीहरूसँग त्यसको कारण समेत सोध्नुभएको छ । उहाँले अब कार्यसम्पादन सम्झौताका आधारमा मन्त्रीहरुको रिपोर्ट कार्ड बन्ने र सम्झौता अनुसार काम नभए मन्त्री, सचिव, विभाग तथा आयोजना प्रमुखको जिम्मेवारी फेरबदल गर्ने चेतावनी दिनुभयो । मन्त्रिपरिषद्का सदस्यहरुले राम्रोसँग हेर्न नपाउँदै विधेयकका व्यवस्थाहरु सार्वजनिक भएको र यो गलत वा सही भन्ने स्थिति बनेकोमा समेत उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
यसअघि २०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मातहतका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्नुभएको थियो । प्रधानमन्त्रीले मन्त्री र मन्त्रीहरूले सचिवसँग कार्यसम्पादन सम्झौता गर्ने र तोकिएका कामका आधारमा नम्बर दिने परम्परा ओलीका पालामा सुरू भएको थियो ।













