बिना विभागीय मन्त्रीले पाए उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
२१ साउन, हेटौँडा । लामो समयदेखि जिम्मेवारी विहीन रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारलाई आइतबार मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
बागमती प्रदेशमा एक मन्त्रालय थप गरेर चित्रकारलाई जिम्मेवारी दिइएको हो । पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी नयाँ मन्त्रालयको रुपमा उद्योग तथा सामान्य प्रशासन मन्त्रालय स्थापना गरिएको हो । नेपाली कांग्रेसका प्रदेश संसदीय दलका उपनेतासमेत रहनुभएका मन्त्री चित्रकारलाई कांग्रेसकै भागमा रहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी जिम्मेवारी तोकिएको हो । मन्त्रालय विभाजनको विषयमा लामो समयदेखि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच विवाद रहँदै आएको थियो ।सरकार गठनको समयमा उच्चस्तरीय समिति निर्माण गरी मन्त्रालयको संख्या १० प्रतिशतमा सीमित राख्ने प्रतिबद्धता जनाएका मुख्यमन्त्री जम्कट्टेल मन्त्रालय विभाजनसँगै आफ्नो प्रतिबद्धताबाट समेत पछाडि हट्नुभयो । वाग्मती प्रदेशमा अब मन्त्रालयको संख्या १२ पुगेको छ ।













