सुन तस्करी प्रकरणमा अर्को समिति आवश्यक छैनः सरकार

स्वर्णिम खबर
१८ श्रावण २०८०, बिहीबार १७:२८

१८ साउन, काठमाडौँ । सरकारले सुन तस्करी माथिको छानबिन भइरहेकाले त्यसका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको बताएको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बिहीवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सुन तस्करी सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नभएको स्पष्ट पार्नुभयो । वर्तमान सरकार अनियमिता, भ्रष्टाचार, बेथिति, तस्करी नियन्त्रणमा दृढतापूर्वक अगाडि बढिरहेको मन्त्री शर्माले दाबी गर्नुभयो । मन्त्री शर्माले विभागले गरेको अनुसन्धानमा आशङ्का नगर्न आग्रह गर्नुभयो । सरकारी निकायबाट नै भइरहेको अनुसन्धानलाई उच्चस्तरीय समिति बनाएर अनुसन्धानलाई नै प्रभावित बनाउन नहुने उहाँको भनाई छ ।
मन्त्री शर्माले विगतमा पनि सुन तस्करीको अनुसन्धान गर्न समिति गठन नभएको जिकिर गर्नुभयो । उहाँले विभागले गरिरहेको अनुन्धानलाई निष्कर्षमा पुग्न दिन पनि प्रतिपक्षी दल एमालेलाई आग्रह गर्नुभयो । यही प्रकरणलाई लिएर एमालेले संसदमा गरिरहेको अवरोध हटाउने विषयमा समेत कुराकानी भइरहेको उल्लेख गर्दै उहाँले छिट्टै सदनमा देखिएको अवरोध हट्नेमा विश्वास समेत व्यक्त गर्नुभयो ।
विभागले यही साउन ३ गते विमानस्थल भन्सारबाट बाहिरिएको अवस्थामा झन्डै एक सय किलो सुन बरामद गरेको थियो । विभागले त्यस प्रकरणमा संलग्न भएको आशङ्कामा १८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*