सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीको संलग्नता रहेको हुनसक्ने शेखर कोईरालाको आशंका

स्वर्णिम खबर
१८ श्रावण २०८०, बिहीबार १५:०७

१८ साउन, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सय किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकोसंलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराइ सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले आशंका उब्जिएको बताउनुभएको हो । सुन समातिएको हप्ता दिन अघिसम्म प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय रहनुभएका नवराज ढुंगानालाई राजश्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) लाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको नेता कोइरालाले जिकिर गर्नुभयो । उहाँले सुन तस्करी प्रकरणको अनुसन्धान चल्दै गर्दा अर्को प्रकरण निस्किने र सुन तस्करी प्रकरणबारे भइरहेको अनुसन्धान ओझेलमा पर्ने दाबी समेत गर्नुभयो । भूटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरण अहिले सुन प्रकरणपछि सेलाएको उहाँको भनाई थियो ।
नेता कोईरालाले संसद अवरोध गरेर मात्रै समस्याको समाधान नहुने बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध गरिरहेको प्रसंग निकाल्दै बोल्ने कुरा संसदमा बोल्दा राम्रो हुने र त्यसमा सत्तापक्षका सांसदहरुले पनि आफ्ना धारणा राख्न पाउनुपर्ने उल्लेख गर्नुभयो । कुनै घटना आउने बित्तिकै शीर्ष तीन दलका नेताहरु छलफल बसिरहेकोप्रति पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
नेता कोईरालाले पार्टी सभापति शेरबहादुर देउवासँग आफू नमिलेको र बोलाएपछि मात्रै पार्टी सभापति कहाँ जाने गरेको स्पष्टीकरण दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*