सत्तारुढ गठबन्धन र एमालेबीच सहमति जुटेन, संसद बैठक एकसाताको लागि स्थगित

स्वर्णिम खबर
१६ श्रावण २०८०, मंगलवार १८:१८

१६ साउन, काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठक एकसाताको लागि स्थगित भएको छ ।
मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी साउन २२ गतेको लागि सारिएको हो । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी प्रतिनिधिसभा बैठक साउन २२ गते दिउँसो १ बजेका लागि तोकिएको छ । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनलाई सहज बनाउन लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुपरेको बताउनुभएको छ । सो सुन तस्करीमा माथिल्लो स्तरको संलग्नता रहेको आफूहरुले संकेत पाएको उल्लेख गर्दै उनीहरुलाई पनि छानबिनको दायरामा ल्याउनका लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति नै बनाउनुपर्ने अडान लिएको प्रष्टयाउनु भयो ।
यसैगरी सत्तारुढ नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले पनि छुट्टै छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुभएको छ । सांसद पौडेलले सरकारले प्राविधिक पक्षलाई समेत ख्याल गरेर पूर्वन्यायाधिशको नेतृत्वमा समिति गठन गरी त्यसको निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने बताउनु भयो । उहाँले सो छानबिनलाई निर्मम ढंगले अघि बढाउन संसदले कडा निगरानी राख्नुपर्ने समेत बताउनु भयो ।
लगातारको संसद अवरोधप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने असन्तुष्टि जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*