अवैध रुपमा सुन भित्र्याउने जोकोहीलाई कारबाही हुन्छः गृहमन्त्री श्रेष्ठ
५ साउन, काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रुपमा सुन भित्र्याउने जोकोहीलाई पनि कारबाही हुने बताउनु भएको छ ।
विमानस्थल भन्सार र अध्यागमन कार्यालयको अनुगमन गर्न पुग्नुभएका गृहमन्त्री श्रेष्ठले सञ्चारकर्मीहरुसंग कुराकानी गर्नुहुँदै भ्रष्टाचार र अपराध अनुसन्धानमा आफू दलीय प्रभावमा नपर्ने स्पष्ट समेत पार्नुभयो । उहाँले सुनको अवैध धन्दाजस्ता अपराधिक क्रियाकलाप आगामी दिनमा पुनरावृत नहुने गरी नयाँ योजना ल्याउने घोषणा समेत गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले सुन तस्करी लगायतका अपराध नियन्त्रण गर्न सरकारले सचेतता, सावधानी र गम्भिर्यता अपनाउन नसकेको स्विकार समेत व्यक्त गर्नु भयो । उहाँले वर्तमान सरकारले भ्रष्टाचारलगायतका गतिविधिलाई अन्त्य गर्ने अभियान सुरु गरेको र त्यसलाई निष्कर्षमा पु¥याएरै छाडने समेत दोेहो¥याउनु भयो ।
उपप्रधानमन्त्री श्रेष्ठले आफूलाई सो सुन प्रकरणमा मुछिएको भनेर प्रश्न गर्नै नमिल्ने जिकीर समेत गर्नु भयो । सुन प्रकरणबारे छानविन गर्न भन्सार विभागले समिति गठन गरेको उल्लेख गर्दै उहाँले छानविनको काममा सघाउ पु¥याउनका लागि सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको पनि बताउनुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठले भन्सार कार्यालयमा चेकजाँचका लागि प्रहरी परिचालन गर्नका लागि छिट्टै सरकारले आवश्यक निर्णय लिने पनि बताउनु भयो ।













