सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि, प्रचण्डले संगै दुई छोरीले दिए दागबत्ती
२७ असार, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको बुधवार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । प्रधानमन्त्री प्रचण्डले सीताको पार्थिक शरीरमा दागबत्ती दिनुभएको छ । प्रधानमन्त्रीको साथमा उहाँका छोरीहरू रेणु र गङ्गा दाहालले सीताको पार्थिक शरीरमा दागबत्ती दिनुभएको हो । दाहालको पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभयो । त्यसलगत्तै नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गर्दै दाहालप्रति सम्मान प्रकट गरेको छ ।

यसअघि बुधबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सीता दाहाललाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । सीता दाहालको थापाथलीमा रहेको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान निधन भएको हो । दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि पीडित हुनुहुन्थ्यो । उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।













