प्रधानमन्त्री प्रचण्डलाई पत्नीशोक
२७ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।
लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएकी उहाँको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । रातिदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई बिहान अस्पताल लगिएको थियो । उपचारको क्रममा उहाँको बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पतालले जनाएको छ । उहाँ पार्किन्सन जस्तै लक्षण भएको जटिल प्रकारको रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ ६९ वर्षको हुनुहुन्थ्यो । उहाँको दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ । त्यसअघि श्रद्धाञ्जलीको लागि उहाँको पार्थिव शरीरलाई माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नर्भिक अस्पतालले प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन भएको प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।













