प्रधानमन्त्रीको प्रश्नः प्रतिपक्षीले राजीनामा माग्दैमा राजीनामा दिनुपर्ने हो ?

स्वर्णिम खबर
२५ असार २०८०, सोमबार १८:४६

२५ असार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिलाई लिएर प्रतिपक्षीहरूले राजीनामा मागेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
उहाँले प्रतिपक्षी दलहरूको हर्कत संसदीय अभ्यास र मान्यता विपरीत रहेको बताउनुभयो ।सोमवार संसदमा आफ्नो अभिव्यक्तिमाथि उठेका प्रश्नको विषयमा जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो असन्तुष्टि राख्नुभएको हो । उहाँले पहिलेदेखि नै आफूले यो विषयमा स्पष्टीकरण दिन खोज्दा नपाएको गुनासो गर्नुभयो । उहाँले आफ्नो राजीनामा माग्ने हक प्रतिपक्षी दलहरूसँग भए पनि तीन दिन संसद् अवरुद्ध गर्नु जायज नभएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले आफू लामो समयका लागि प्रधानमन्त्री बन्नेमा विश्वास नरहेको पनि संसद्मा बताउनुभयो । उहाँले भ्रष्टाचारविरुद्धको अभियान निरन्तर रहने पनि उल्लेख गर्नुभयो । प्रतिपक्षी दलका नेतासँगको भेटप्रति आशंका गरिएको भन्दै उहाँले उक्त भेटमा दोषी जोगाउने गरी कुनै कुरा नै नभएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरूको सम्बन्धमा आफू स्वयम् र अहिलेको सरकार गम्भीर रहेको बताउनुभयो ।
यस क्रममा प्रधानमन्त्री दाहालले भारतीय सरदार प्रितम सिंहको विषयमा दिएको विवादित अभिव्यक्ति भावनामा आएर बाहिरिएको भन्दै आत्मालोचना गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*