प्रधानमन्त्रीको राजीनामा माग गदै शुक्रबार पनि राष्ट्रियसभा बैठक अवरुद्ध
२२ असार, काठमाडौँ । राष्ट्रियसभा बैठक शुक्रबार (तेस्रो) दिन पनि अवरुद्ध भएको छ ।
शुक्रबार पनि बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रियसभा बैठक असार २४ गते आईतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो । बैठकको सुरुमै बोल्दै एमालेकी सांसद विमला घिमिरेले आफ्नो पार्टीले कुनै आग्रह, पूर्वाग्रह र कुण्ठाले भन्दा पनि राष्ट्र र जनताको स्वाभिमान र संसदको गरिमाको रक्षा गर्नका लागि प्रधानमन्त्री दाहालको राजीनामा नआएसम्म संसद बैठक चल्न नदिने अडान लिनु परेको बताउनु भयो ।
उहाँले प्रधानमन्त्रीले आफ्नो पदका लागि आत्मसमर्पण गरेकाले उहाँलाई नेपाली जनतालाई शासित गर्ने अधिकार नरहेकोे जिकीर समेत गर्नु भयो । देशकै सम्माननित पदमा पुगेका प्रधानमन्त्रीले भारतीय नागरिक प्रितम सिंहबारे दिएको नेपालको स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रियता, स्वाधिनता र भौगोलिक अखण्डता र नेपाली जनताको स्वभिमानमाथि आँच आउने गरी दिएको यो अभिव्यक्तिले सारा स्वाभिमानी नेपालीहरुको शीर झुकेको सांसद घिमिरेको दावी थियो ।
एमाले सांसदहरुले उठेर अवरोध गरेपछि अध्यक्ष गणेश तिमिल्सिनाले सदन सुचारु गराउन पटकपटक आग्रह गर्नु भएको थियो । तर आफ्नो अडानबाट एमाले सांसदहरु पछि नहटेसम्म अध्यक्ष तिमिल्सिनाले असार २४ गते आईतबारसम्मका लागि सो बैठक स्थगित गर्नु भएको थियो ।













