बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित
२१ असार, हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।
बिहिबार बसेको प्रदेशसभा बैठकमा विषयगत मन्त्रालयका मन्त्रीहरु र मुख्यमन्त्रीले सांसद्हरुले बजेटको सन्दर्भमा उठाएका जिज्ञाशाहरुको जवाफ दिएसंगै विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पारित भएको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका ६७ जना सांसदहरु बजेटको पक्षमा रहेका थिए भने नेकपा एमाले, राप्रपा र नेमकिपाका ४३ जना सांसदहरुले बजेटको विपक्षमा मत जाहेर गरेका थिए ।
प्रदेश सरकारले गत असार १ गते ६२ अर्ब ७० करोड ९० लाखको बजेट प्रस्तुत गरेको थियो । असार १२ गतेदेखि बजेटमाथि छलफल सुरु भए पनि प्रतिपक्षको अवरोधको कारण १७ गतेबाटमात्रै छलफल सुरु भएको थियो ।













