बागमतीमा प्रतिपक्षी दलको अवरोध हट्यो, विपक्षी माग पुरा गर्न सरकार तयार
१८ असार, हेटौँडा । बागमती प्रदेशसभामा प्रतिपक्षी दलको अवरोध हटेको छ ।
सरकारले बजेटलाई सन्तुलित बनाउने प्रतिबद्धता जनाएपछि अवरोध हटेको हो । आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट असन्तुलित र विभेदकारी भएको भन्दै नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका थिए । विनियोजन विधेयकमाथि छलफल नै हुन नसक्ने भएपछि सोमबार भएको सर्वदलीय बैठकमा सरकार प्रतिपक्षी दलहरुलाई सम्बोधन गर्न तयार भएको हो । बैठक सुरु भए लगत्तै आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले प्रतिपक्षी दलहरुसँग सहमति भएको भन्दै बजेट कार्यान्वयन गरेर जाने बताउनुभयो । यसैगरी एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बजेट असन्तुलित भयो भनेर सरकारले गल्ती महसुस गरेको बताउनुभयो । प्रदेशसभाबाट बजेट पास गर्नुअघि नै मन्त्रिपरिषद्ले बजेट सच्याएर ल्याउने सहमति भएको भन्दै उहाँले सरकारले आफ्नो प्रतिबद्धता पालना गर्ने विश्वास व्यक्त गर्नुभयो । यसैगरी राप्रपाका संसदीय दलका नेता उद्धव थापाले पनि सरकारलाई विश्वास गरेर आफूहरुले सदनको अवरोध हटाएको बताउनुभयो । प्रदेशसभाको अर्को बैठक मंगलबार दिउँसो ३ बजे बस्नेछ ।













