मनोमानी ढंगले सरकारले बजेट ल्यायोः नेता थपलिया

मनिल महतो
१७ असार २०८०, आईतवार १७:०८

१७ असार, हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट न्यायोचित नभएको भन्दै बजेट संशोधनका लागि ११ बुँदे माग गरेको छ ।
आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एमालेले बजेट संशोधनका लागि विभिन्न ११ बुँदे माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै एमालेको बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मनोमानी ढंगले सरकारले बजेट ल्याएको आरोप लगाउनुभयो । बजेट विनियोजन गर्दा सरकारले प्रदेशको अर्थतन्त्र, सामाजिक आवश्यकताहरू, आवधिक योजना, दिगो विकासका लक्ष्य, आर्थिक व्यवस्थाको समृद्धिलाई प्रोत्साहन गर्ने कुरामा ध्यान नदिएको नेता थपलियाले बताउनुभयो । बजेट मुख्यमन्त्री र सीमित मन्त्रीका ३–४ वटा निर्वाचन क्षेत्रमा मात्र केन्द्रीकृत रहेको उहाँले आरोप लगाउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेता थपलियाले सरकारको नीति तथा कार्यक्रम र बजेटबीच कुनै तालमेल नमिलेको टिप्पणी गर्नुभयो । अघिल्ला सरकारले ल्याएका जनमैत्री र प्रदेशका गौरवका आयोजनाहरुमा समेत बजेट विनियोजना नगरिएको उहाँले आरोप लगाउनुभयो । नेता थपलियाले सरकारको बजेट संघीयता विरोधी भएको समेत बताउनुभयो ।
प्रतिपक्षी दलहरुको सुझावलाई समेत सरकारले बेवास्ता गरेको एमालेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*