वर्तमान सरकारको आयु केही दिन मात्रः सचेतक बर्तौला
८ असार, काठमाडौँ । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले वर्तमान सरकारको आयु केही दिन मात्रै रहेको बताउनुभएको छ ।
शुक्रवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा सचेतक बर्तौलाले वर्तमान सरकारको आयु वर्ष नभएर केही दिनसम्म मात्रै रहेको बताउनुभएको हो । उहाँले वर्तमान सरकार जनादेशअनुसार नबनेको टिप्पणी गर्नुभयो । उहाँले सरकारले जनतालाई डेलिभरी दिन नसकेको मात्रै नभएर राष्ट्र हितको प्रवद्र्धन गर्न समेत नसकेको बताउनुभयो । सचेतक बर्तौलाले बजेटमार्फत देशलाई आर्थिक समस्या समाधान गर्छ भन्ने सन्देश दिन समेत नसकेको भन्दै सरकार अस्थिर, कमजोर बनेको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकार एमाललेलाई पाँच वर्ष टिकोस् भन्ने भएपनि परिस्थितिले सरकारको आयु लामो नदेखिएको बताउनु भयो ।
त्यस्तै,नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले एमाले र काँग्रेसको सरकार बन्ने विषय आधारहीन बहस भएको टिप्पणी गर्नुभयो । उहाँले सरकार परिर्वतन हुने विश्लेषण गर्न मिले पनि अहिले तत्काल एमाले र काँग्रेसका बीचमा सत्ता साझेदारी गर्ने तहको धरातल विकास नभएको दाबी गर्नुभयो । उहाँले एमाले माओवादीको पनि सधैँ संवाद भइरहेको बताउनु भयो । उहाँले पहिलो चरणलाई यही गठबन्धनमा इमान्दारीरी पूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेपछि प्रधानमन्त्रीले हस्तान्तरण गर्नुहुने बताउनु भयो ।
उहाँले सरकारले ल्याएको बजेट असन्तुलन भएको कुरा माओवादीले पनि बोलेको भन्दै बजेट पास नहुने भन्ने नभएको बताउनु भयो ।













