समाज परिवतर्नको लागि तयार भएको कुरा मतपत्रमा जायर हुन थाल्योः सभापति लामिछाने
७ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनको लागि तयार भएको कुरा मतपत्रमा जायर हुन थालेको बताउनुभएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले समाज परिवर्तनका लागि तयार भइसकेको स्पष्ट संकेत उपनिर्वाचनबाट देखिइसकेको बताउनु भयो । उहाँले आफ्नो पार्टीको एक वर्षको यात्रा सौहार्दपूर्ण र सकारात्मक रुपमा बितेको दाबी समेत गर्नुभयो । उहाँले रास्वपालाई जनताले आशा र भरोसाको रुपमा लिएको बताउनु भयो । पार्टी सुरुवात गर्दा नागरिकले आफूहरुलाई विश्वास गरेको तर उक्त विश्वास मतपत्रमा देखिन्छ वा देखिदैन भन्ने आशंका रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै सभापति लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रास्वपामा आए असाध्यै राम्रो हुने प्रतिक्रिया दिनुभयो । उहाँले आफ्नो सम्बन्ध दुवै जनासँग सौहार्दपूर्ण रहेको उल्लेख गर्दै दुवैको कामको प्रशंसा आफूले गरिरहेको बताउनुभयो । दुई जनालाई पार्टी प्रवेश गराउन सके खुशीको कुरा हुने उहाँको भनाई छ ।
सभापति लामिछानेले आफूहरु संगठन निर्माण र सुदृढिकरणमा लागिरहेको बताउनुभयो ।













